दुई पृथक र शक्तिशाली छिमेकाका बीचमा नेपालले आफ्नै सम्भावनाहरुलाई परिपूर्ति गर्न सहि नीति, रणनीति वा मार्ग खोज्नै पर्छ। २१ शताव्दीमा नेपाल विश्वकै केन्द्रविन्दुमा पर्ने ३ प्रबल सम्भावनाहरुका बारेमा यहाँ विश्लेषण गर्न चाहेँ। यहि सम्भावनाहरुलाई समाधान दिने मार्ग, नीति र रणनीति बनाउन सके हाम्रो देश शान्त, समृद्ध र सार्वभौम रहनसक्छ भन्ने हाम्रो विश्वास हो। यी ३ सम्भावनाहरु हेर्दा अबको नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।
पहिलो – नेपाल आर्थिक रुपमा विश्वको एक केन्द्रविन्दु: विश्वको दुई सबैभन्दा ठूला अर्थतन्त्रहरुका बीचमा रहेर पनि हामी खाली परनिर्भर अर्थतन्त्र बनिराख्ने कि हाम्रो लाहुरमुखी समाजलाई उद्यमशील समाज बनाई उत्पादनमुखी दिगो अर्थतन्त्र बनाउने नीति लिई अघि लम्कने? समवृद्धिमुखी वातावरणको लागि दिगो (स्वतन्त्र, स्वच्छ, जिम्मेवार) बजार र यो सापेक्ष नीति र नेतृत्व बनाउन तर्फ लाग्ने बेला हो यो। अब पनि यहि लूटतन्त्रलाई (सिन्डिकेट, अस्वस्थ्य, दोहनकारी प्रतिस्पर्धा) प्रोत्साहन दिई राख्ने कि उदार (उन्नत) लोकतन्त्रका मूल्य-मान्यतालाई आत्मसात् गरी संघीयताको मर्म अनुसार हरेक नेपालीले उपभोग गर्न चाहेको “समतामूलक वृद्धि” अर्थात् “समवृद्धि”लाई प्रोत्साहन गर्ने?
दोस्रो: नेपाल पर्यावरणीय परिवर्तनमा विश्वको एक केन्द्रविन्दु,: नेपालभरि फैलिएको हिमाली क्षेत्रलाई तेस्रो ध्रुव भनिन्छ, उत्तरी र दक्षिणी ध्रुवपछि। किनकि यो यस वरिपरि बस्ने झण्डै १ अर्ब मानिसको लागि अपार खानेपानीको स्रोत हो। मानव जातिको इतिहास पल्टाएर हेर्दा, चाहे त्यो सिन्धु (ईन्डस) उपत्यका देखि मेसोपोटेनियाको सभ्यता होस् वा “आँगकोर” होस् वा “ईन्का”, पहिलेका ठूला ठूला सभ्यताहरु यस्तै पर्यावरणीय परिवर्तनकै चपेटामा परि नाश भएका प्रमाणहरु वैज्ञानिकहरुले पटक पटक दिइरहेका छन्। वंगलादेश देखि भारतको पश्चिम बंगाल डुब्न थाले त्यहाँ दशौँ करोडौँ स्थानीय कहाँ जालान्, सुक्दै गईरहेको उत्तर प्रदेश, बिहार, हरियानामा खडेरी परे, कहाँ जालान् त्यहाँका किसान परिवार? वा हामी नै कहाँ जान्छौँ होला? वैज्ञानिकहरुको चेतावनी, बालबालिकाहरुको सडकसडकबाट खबरदारी, मौसमको गडबडी सबै देखि-भोगी रहेको सन्दर्भमा यदि हामीले हाम्रो जीवन शैलीदेखि देशकै शैलीलाई “दिगोपन” सँग जोड्न सकेनौँ र “वातावरण पहिलो” नीति लिन आँटेनौ भने हामी ३ करोड नेपाली मात्र होइन त्यो भन्दा ३० गुणा बढी दाजुभाई, दिदीबहिनीहरुकै अस्तित्व मेट्टाउन सक्ने षडयन्त्रकारी कहलिनेछौँ।
तेस्रो: नेपाल अध्यात्मको एक विश्व केन्द्रविन्दु: “मक्का र जेरुसलम” जस्ता स्थलहरु एकै देश भित्र पर्यो भने के हुन्छ? यो प्रश्न मैले स्टानफोर्ड विश्व विद्यालयमा भरखरै त्यहाँ फेलोसिप गरिरहेका २७ देशका उदार लोकतन्त्रमा विश्वास राख्ने नेतृत्वहरु, अभियानकर्ता र अनुसन्धानकर्ता बीच राखेका थिएँ। हजारौँ बर्षदेखि नेपाल आध्यत्मिक बिचारका धनी रहेको भूमि हो जहाँ बुद्ध देखि कैयौँ रिन्पोचेहरुले मध्यमार्ग अनुसरण गरेका थिए। बाल्मीकिदेखि व्यास जस्ता शन्तहरुले यहि गुरुभूमिबाट महाकाव्यहरु शुरु गरि मानवजातीमा विवेक जगाउने यात्रा शुरु गरेका थिए। यो पनि स्मरण गराउन चाहेँ कि यहाँ शिखगुरु ननाक देखि जैनगुरु भाद्रबहु देखि किराँत महागुरु फागुनन्दसम्मले करुणादायी ज्ञान बाँडेका थिए। विभिन्न धर्म-बिचार बोकेका फकिरहरु देखि बाबाहरुले ज्ञान हासिल गरि बाँड्ने काम भैरहेको भूमि हो । उनीहरुले मानवतादेखि जीवनको उद्देश्यका बारेमा सोधेका प्रश्नहरुले मानव जातिलाई झक्झकाए। यी ऋषिमुनि, गुरुहरुले सदियौँदेखि सत्य, समानूभूति, विनम्रता, अहिँसा, उदारता र करुणाका नरम विचार र प्रश्नले हामीलाई उत्तर खोज्न अहिलेसम्म झक्झकाइ रहेको छ । हामीले नेपाललाई, नरम, मध्यमार्गी मर्ममा उभिएर सबैलाई आ-आफ्नै उत्तर खोज्न किन मद्दत नगर्ने? यसरी नै जटिल व्यक्तिगत र सामाजिक समस्याहरुका समाधान खोज्ने केन्द्रविन्दुको रुपमा हाम्रा छिमेकका लागि उदाहरण किन नबन्ने? किन विश्वलाई चाहिने विविधता बीचको एकतालाई प्रोत्साहन गर्ने सम्वाद र समानुभूतिको केन्द्रविन्दु नबनाउने? किन अध्यात्मको केन्द्र विन्दुको रुपमा पुनर्निर्माण गरेर नदेखाउने नेपाललाई? २,५०० बर्षदेखि आध्यात्मिक स्वतन्त्रता प्रोत्साहन गर्ने गुरुहरुले भरिएको भूमिलाई समयसापेक्ष र सान्दर्भिक नीति-नेतृत्व दिलाउन सके, हाम्रो औचित्य र सार्वभौमसत्ता दुवै सुरक्षित हुने थियो। दुई गगनचुम्बी भवनहरुका बीचका एक गुरुको आश्रम नेपाललाई किन नबनाउने जहाँ छिमेकले हामीलाई सत्कार गरिरहोस्, श्रद्धाले हेरिराखोस्, हाम्रो प्रेरणादायी भूमिकाले ढुक्क भईराखोस्?
हो, यी तिनै सम्भावनालाई नेपालले सदुपयोग गरी विश्वको एक केन्द्रविन्दु बन्न दत्तचित्त हुने हो भने नेपालको मार्ग, आचरण र दर्शन कस्तो हुनुपर्ला त? यसका लागि चाहिने मौलिक दर्शन/मार्ग/आचरणको खोजीमा हामीले ७ बर्ष देखि नेपालभित्रै अनुसन्धान गर्दै आएका छौँ। यस यात्रामा हामीले देशभरि लाखौँ नेपालीहरुसँग कुनाकाप्चामा सम्बाद गर्यौँ र मूलत: एउटै खाले प्रश्नको सेरोफेरोमा ध्यान दियौँ। “तपाईंको सपना के हो”? तपाईँको परिवारको ईच्छा के हो? तपाईँको समाजको आकाँक्षा के हो?” यसबाट आएका विविध उत्तरहरुलाई जमाएर बनायौँ एक दर्शन हो “गतिशील मध्यमार्ग” जसले समयसापेक्ष रुपमा समाजको सुधार गर्दै अगाडि बढ्छ र नेपाललाई गुरु राष्ट्र बनाउन सक्छ। यिनै सपनाहरुलाई आधार बनाई आम नेपालीले चाहेको ३ चुरो सपनाहरुलाई आत्मसात् हामीले विवेकशील नेपाली दलमा पनि गरेका छौँ। यी ३ सपना/अपेक्षाहरु हुन् “३स” १) स्वतन्त्रता २) स्वाभिमान ३) समवृद्धि (समतामूलक वृद्धि सबैको) र तिनै मान्यता एक अर्काका परिपूरक हुनुपर्ने पनि निश्कर्ष निकाल्यौँ। अझ यी ३ मान्यताहरुकै बीचको सम्बन्ध पनि औधि महत्वपूर्ण हुने पनि निश्कर्ष निकाल्यौँ। यी तिनैको बीच अर्को “३स” को सम्बन्ध जरुरी हुन्छ, यिनीहरुको बीच “सन्तुलन” हुनुपर्ने, “समन्वय (सहकार्य)” भैरहनुपर्ने र तिनैको “सह-अस्तित्व” सुनिश्चित गरिनु अपरिहार्य छ। यहि मार्गलाई हामीळे “गतिशील मध्यमार्ग” भनि संज्ञा दिएका छौँ।
नेपालीहरुको स्वतन्त्रता, स्वाभिमान र समवृद्धि हुने वातावरण जोगाउन अहिले नेपाललाई एक गतिशील मध्यमार्गमा राखेर एक गुरु राष्ट्रमा रुपान्तरण गर्नु जरुरी देखेको छु। गुरु राष्ट्रमा राज्य आम नागरिकको पक्ष उभिने “हितकारी” व्यवहार देखाउँछ न कि अहिलेको जस्तो ‘दोहनकारी’। गुरु राष्ट्रमा सरकार सेवक हुन्छ, न कि अहिले जस्तो शासक (भक्षक)। यहाँ समाज उद्यमशील हुन्छ सृजनशीलता र नवीनता अँगाल्ने, न कि अहिले जस्तो परनिर्भर (लाहुरमुखी र परजीवी)। अनि यहाँ नागरिक विवेकशील (विवेकी) मान्यतामा जीउन रुचाँउछन् न कि अहिले जस्तो स्वार्थमुखी र अल्पकालिन हुल जसरी। गुरु राष्ट्र बनाउने यस मार्गलाई हामीले एउटा “गतिशील मध्यमार्ग” भनेका छौँ। नागरिकको यी सपनालाई बिपना बनाउन नेपालले आफ्नो दुई शक्तिशाली छिमेकसँग गर्ने व्यवहार र व्यापार पनि महत्वपूर्ण हुनजान्छ। कस्तो व्यवहार भन्दा गतिशील मध्यमार्गमा रहेर “उत्तर-दक्षिण” नीतिका ५ आधारहरु अंगीकार गर्नु जरुरी छ। प्रथमत नेपाल र हाम्रो दुवै छिमेकबीच “समनिकटता”को सम्बन्ध हुनुपर्छ। हामी तिनै छिमेक बीच सह-अस्तित्व (सम्मान) स्वीकार्ने माहोल बनाईराख्नु पनि जरुरी छ। अनि एक-आपस बीचको अन्तरनिर्भरताबाट दिगो बिकास र प्रगतिको माहोल बनाउनु पर्छ। अनि एक-आपसको सुरक्षालाई पनि प्रत्याभूति दिने माहोल बनाउन सक्नुपर्छ एक “समानूभूति”को वातावरण बनाउन। यस्तो मार्गमा नेपाल हिडँन सक्यो भने यो विश्वको केन्द्रविन्दु भन्न लायक पनि हुन्छ र नेपालीहरुले महसुस पनि गर्नेछन्। यसका लागि नीति र नेतृत्व दुवैलाई यहि गुरु राष्ट्र बनाउने मार्गमा लम्काउनु पर्ने बेला आईसेकको छ।
तर यसको ठीक बिपरित दिशामा लान अहिले नेपाली समाजलाई नै दुई अतिवादी “धार”मा चिरा पार्न खोजिएको देखिदैँछ। एकातिरबाट उग्र-वामपन्थीहरुबाट र अर्कोतिर उग्र-दक्षिणपन्थीबाट। अझ कोहीले “मोदी पथ” त कोहीले “सी पथ” को ‘कपी-पेस्ट’ गर्न तर्फ पनि लागेका देखिन्छ। तर नेपालीहरु यस्तो कपी-पेस्ट वाला मार्गमा कदापि जान चाहदैँनन्। नेपालीहरु न त लोकतन्त्रको नाममा लूटतन्त्र मच्चेको देखीरहन चाहेका छन् वा त लोकतन्त्रको विकल्पको रुपमा उहि पुरानै “अधिनायकवाद” स्वीकार्नै। नेपालमा लोकतन्त्रको बिकल्प भनेको अझ उन्नत लोकतन्त्र हो। नेपालीहरु आफू र आफ्नो समुदायले खोजिरहेको स्वाभिमान जोगाउन खालको उदार लोकतन्त्र खोजीरहेछन् । यहि लोकतन्त्र भित्र नेपालीहरुले आफ्नो प्रत्यक्ष सहभागिता हुने खालको संघीय़ गणतन्त्र खोजिरहेछन्। शक्ति र नेतृत्वलाई जवाफदेही बनाउने विधिका शासन नागरिकहरु खोजिरहेछन् । हरेकको समतामुलक वृद्धि यानिकि समवृद्धि फस्टाउन सक्ने दिगो बजार-अर्थतन्त्र खोजिरहेछन्। यहि चक्रव्यूहलाई तोड्न अब विवेक पुर्याउने नागरिक, समाज र नेतृत्व मिली उन्नत उदार लोकतन्त्रको पक्षमा साहसी भई गुरु बन्ने र बनाउने चेष्ठा गर्ने बेला हो।
यसरी दुई धुर्वका अतिवादीहरु बीच मच्चिइरहेको अस्थीर पिंगलाई सुरक्षित मध्यमार्गमा अवतरण गराएर, स्थीर गराउने नीति र नेतृत्वको खाचोँ तडकारो छ। विश्वकै केन्द्रविन्दुमा रहने यस्ता अदभूत सम्भावनाहरुका बीच अब तपाईँ-हामी मिलेर नेपाललाई हाम्रो उत्तर र दक्षिणले नै आदर गर्ने एक गुरु राष्ट्र बनाउन आँटने होईन त?