समस्त ‘पशुका संरक्षक’ पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने?
एकातिर उनैले ‘रक्षा’ गरेको देशमै हामी पशुको भीषण बलि दिने आँट गर्छौँ। अर्कोतिर उनैसँग हामी आफू र आफन्तको ‘सुरक्षा’ मागीहिँड्छौँ।
गढिमाईले वा मनकामना माईले हामीलाई किन रक्षा गर्ने?
कुनै प्राणीको तन-मन छिनी हाम्रो मनको कामना होस् भन्दै यी देवीसँग बरदान माग्छौँ।
गोरखकाली वा समग्रमा काली-दुर्गा-भगवतीले हामीलाई किन रक्षा गर्ने ?
उनको नाममा दशैँमा गोरखा दरबारदेखि हनुमानढोसम्म बाटैभरि रगतको खोला बगाउँछौँ अनि देशमा काटमार कदापि नहोस् भन्दै उनैलाई कामना गर्छौँ।
देशभरि विभिन्न मठ मन्दिरमा कुनै प्राणीको काल हरण गरी हाम्रै काल लम्ब्याउने जुक्ति गर्छौँ। वाह! नेपाल बुद्ध जन्मिएको देश हो भन्दै एकातिर हामी चिच्चाउदैँ हिँडछौँ, अर्कोतिर विभिन्न चाडपर्वको बहानामा भीषण पशुबलि दिन आतुर हुन्छौँ। अचम्म लाग्दो!
कसैलाई यो कुरामा चित्त नबुझ्ला र तर्क राख्नुहोला,
‘यी त पुस्तौँदेखि चलीआएका संस्कार, चलन, रीतिरिवाज हुन्। किन यसमा टाउको दुखाई?’
त्यसो त सतीप्रथा पनि एक जमानामा रीतिरिवाज थियो। अहिले छैन। किन? कसैले टाउको दुखाएरै त हटेको हो यो। दासप्रथा पनि कानुनसम्मत थियो, पशुपतिनाथकै ढुकुटीबाटै पैसा झिकेर उन्मुलन भएको हो। छुवाछुत प्रथा समाजमा ब्याप्त थियो। यी सबै अहिले छैन। कमलरी प्रथा भरखरै हटाईयो।
अहिले बहुसंख्यक हामीले ‘भगवानलाई खुसी पार्न बलि नदिइकन नै बडा दशैँ मनाउन थालिसकेका छौँ। यस्तैगरी ‘छुई – महिनावारी’ प्रथालाई पनि घरमै समय सापेक्ष ढंगबाट सुधार गर्दै लगेकाछौँ। छाउ प्रथा विरुद्ध प्रयास जारी छ। छुवाछुत तोडिसक्यौँ। अन्तरजातीय विवाह पनि सामाजिक आदर्श बनिसकेको छ। भीषण गृह-युद्धबाट निस्केको देशले नै ‘आदर्शको लागि काटमार’ गर्ने प्रथालाई त्यागीसकेको छ।
भनेपछि अघि जे प्रथा थियो, अहिले पनि त्यही प्रथा त्यही स्वरुपमा रहँदैन। युगान्तरमा सबै चाल-चलन, संस्कृति र परम्परा समयसापेक्ष तरिकाले सुधार हुँदै जादोँ रहेछ। यसमा अब दुईमत रहेन। ‘सुधार’ विधिको नियम हो र प्रकृतिको आधार पनि हो। अहिलेसम्म त हामीले समयसँग मेल नखाने चाल-चलनलाई त्याग्दै गएको तथ्यमा हाम्रै ईतिहास साक्षी छ।
यसैले अब ‘भगवानलाई खुसी पार्न पशु बलि’ दिने प्रथामा पनि ‘सुधार’ को खाँचो छ। हामी बुद्ध जन्मेको देशमा भएकोमा बडो गर्व गर्छौँ। हामी पशुपतिनाथले रक्षा गर्ने देश भएकोमा ढुक्क छौँ। अब आफैँ स्वविवेक प्रयोग गरौँ। तपाईको विवेकले के भन्छ यो विषयमा?
फेरि सोध्नुहोला, ‘त्यसो भए के हामी मासु नखाने त?’
मासु खाने वा नखानेसँग यो लेखको कुनै सम्बन्ध छैन। पेट भर्नलाई तपाई के खानुहुन्छ त्यो तपाईँकै व्यक्तिगत मामला हो।
मेरो तर्क यत्ति हो कि, तपाई एकातिर दिनदिनै पशुपतिनाथ वा वुद्ध भगवानलाई पूजा गर्ने अनि रक्षा माग्ने, अर्कोतिर आफै भगवानलाई खुसी पार्न पशुबलि दिने प्रथालाई प्रोत्साहन दिनुचाहिँ भएन। हाम्रा यस्तो दुई जिब्रे व्यवहार देखेर भगवान कसरी खुसी हुन्छन् होला र? यत्ति एउटा कुरामा चाही स्वविवेक प्रयोग गर्ने कि?
‘यस्ता पशुबलि दिने प्रथा अरु देशमा पनि त छन्। उनीहरुले चाहिँ गर्न हुने, हामीले चाहिँ किन गर्न नहुने?’
अरुको देखासिकी गरी हामीले निर्णय गर्नु ठीक कि आफ्नै विवेक प्रयोग गरी निर्णय गर्नु ठीक? अरुले गरेको काम ठीक हो या होईन त्यो छुट्टाउने विवेक हामी हरेक नेपालीमा छ। अरुले गरेको गलत कामलाई हामीले अँगाल्ने कि उल्टो उनीहरुलाई हामीले सिकाउने ?
गढीमाई पर्व होस् या मनकामनाको पूजा, दशैँको अष्टमीमा होस् या अरु कुनै चाडपर्वमा ‘भगवानलाई खुसी पार्न पशुबलि दिने’ प्रथामा समयसापेक्ष रुपमा सुधार गरौँ। संस्कृतिले धनी हाम्रो नेपालमा चाडपर्वमा ‘मार्नु’ को सट्टा ‘बचाउने’ संस्कार ल्याउने बेला आएको छ। हाम्रा यी अद्भूत चाडपर्वहरुलाई सुधारमुखी तरिकाले परिमार्जित गर्दै अझ भव्य रुपमा मनाउनु पो पर्छ त! मनकामना, गढीमाई, गोरखकाली देवीलाई पशुबलिको सट्टा बाटो, कुलो, पुस्तकालय, चर्पी बनाउँछु भनी भाकल गरे कसो होला! यस्तै कयौँ समयसापेक्ष विवेकशील बाटो चुनौँ न हामीले।
आउनुहोस्, २१ औं शताव्दीमा नेपालमा ‘भगवानलाई खुसी पार्न प्राणी बली’को प्रथा उन्मुलन गरी बुद्धले सिकाएका पाठ र पशुपतिनाथले रक्षा गर्ने देशको मूल मर्ममा फेरि हामी हिँड़ने आँट गरौँ। अनि बल्ल हामीले कल्पना गरेको शान्त र संमृद्ध नेपाल हाम्रै कालमा देख्नेछौँ।
भगवानलाई खुसी पार्न अब मार्ने होईन बचाउने प्रथा शुरु गरौँ। चाहे त्यो पशु बचाऊ होस् वा प्रकृति, व्यक्ति बचाऊ होस् वा देश। यही विवेक हामी सबैमा जागोस्।
पशुपतिनाथले हामी सबैको रक्षा गरुन्।