नमस्ते, म एक विवेकशील प्राणी बन्ने कोशिशमा छु :)

About Ujwal in English

नमस्ते ! मेरो नाम उज्वल हो।  म नेपालको राजनितिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस् । धन्यवाद 🙂

यो रहयो मरो छोटकरीमा कहानी। सारंशमा भन्नु पर्दा म एस्ट्रो-फिजिक्स (AstroPhysics) पढ्न अमेरिका गा को मान्छे, एक वेब साईट बनाउने डिजाईनर (कलाकार) भएर फर्के।

जिन्दगी देखि वाक्क भएर भिक्षु बन्छु सोचेको थिएँ तर उद्दमी बन्न पुगेँ। अरु सँग टाढा एक्लै बस्न रुचाउने म, अहिले हजारौँलाई एउटै सामुहिक सन्जालमा ल्याउँदैमा व्यस्थ छु।

अहिले नेपालको यो गाह्रो परिष्थितिमा म नेपालीहरुलाई कसरी एक बनाई देशलाई संमृद्ध बनाउनको निमित्त राजनितिबाटै नेपालीहरुलाई निकास दिनुपर्छ भनेर “विवेकशील नेपाली ” नामक नविन राजनितिक शक्ति बनाउन कम्मर कसेको छु, सयौँ सक्षम युवा तथा अग्रज साथीहरु सँग मिलेर।

मलाई मेरा नजिककाले एक “म्याभरिक” (अपरंपरागत बिद्रोही स्वभावको) भनेर पनि चिन्छन। कसरी भन्नु होला? एउटा उदाहरण दिउँ – कुरा ११ कक्षाको हो। म त्यति बेला बुढानिलकण्ठ स्कुलमा पढ्थेँ।  बर्षको अन्तिममा अँग्रेजी साहित्य बिषयको जाँच दिँदै थिए। प्रश्नको भन्न खोज्या उत्तर राम्ररी व्यक्त गर्न सकिन। अनि किताब अरुले जस्तो घोकेको पनि थिईन। के गरुँ गरुँ भयो। म त्यस बेला केहि नभए नि कार्टुन बनाउन चाहिँ निपुण थिएँ।  अनि निधो गरे, लेखेर भाव व्यक्त गर्न आएन त आएन, बरु कार्टुन बनाएर नै त्यसको उत्तर दिनसक्छु जस्तो लाग्यो। अनि आफ्नो उत्तरपुस्तिकामा मज्जाले हरेक प्रश्नको उत्तर कार्टुन बनाएर दिन थाले। सँगै जाचँ दिदैँ गरेका साथीहरु ठुल्ठुला आँखाले हेर्न थाले, लौ उज्वले त बौलायो भनेर। म चाहिँ मज्जाले जे होला होला भनेर कार्टुन कोर्दै बसे, पान्ना मागी मागी।  कार्टुनका बिच बिचमा केहि शब्दहरु पनि हाले यसो बुझाउनको लागि। पक्का थाहा थियो कि जाँच्ने जो कोईले पनि मलाई अवश्य फेल गरिदिन्छ।  तै पनि जोखिम उठाँए। जे होला होला ! उता वरिपरि जाँच दिईरहेका सबै साथीहरुले त आफ्ना उत्तर लेख्न छाडेर मलाई टोलाई टोलाई हेरिरहेका थिएँ। भान पर्थ्यो उनीहरुको दिमागमा यहि थियो होला “लौ हाम्रो उज्वले त खुस्किएछ !”

केहि महिना पछि बेलायतको केम्बरिज बिश्वबिधालयबाट  यसको रिजल्ट निस्किएर नेपाल पठाए।  हामी सबैलेआ-आफ्नो मार्कस-सिट हेर्‍यौँ। हेर्नु अगाडि केहिले मलाई खिसीँ गरे, अँग्रेजीमा त गोल खाई हाल्छस् कि कसो उज्वले ?

अनि यसो हेरेँ आफ्नो मार्कसिट। खितिखिति मन देखि नै हासोँ लाग्यो । आधा भन्दा बढि साथीहरुलाई मैले जितेछु। सबै मुर्छै परे। ‘अँग्रजी साहित्यमा कार्टुन बनाएर आधा भन्दा साथीहरुलाई जितेको’ कुरा पत्याउने कि नपत्याउने। किन ?कसरी ? – अहिले सम्म थाहा पाईएन तर  आज पनि स्कुलका साथीहरु भेट्यौँ भने त्यहि कुरा निकाल्छन्। 🙂 पछि यहिँबाट म अमेरिकामा छात्रबृतिका साथ पढ्ने मौका पनि पाँए । जे हुन्छ राम्रै हुँदो रहेछ !

म भगवत् गितामा भने झैँ ‘कर्मयोगी’ हुनुमा पूर्ण विश्वास गर्छु। मलाई चाहिँ अलि गाह्रो कर्म दिएको जस्तो लाग्छ भगवानले। मेरो कर्म चाहिँ अरुको दिमाग घोँची राख्ने 🙂 अँग्रजीमा “प्रोभोक गर्ने” भन्छन् क्यार यसलाई।  “अहिले नगरे कहिले, हामीले नगरे कस्ले” म सबैलाई यहि भन्छु र देखाएर धकेल्छु।म यो बिचार राख्दछु –

“हामीले यो धर्तिमा आएपछि केहि गरेरै जानै पर्छ। हामी हरेकले आ-आफ्नै एउटा विशेष कर्तव्य बोकेर आएको हुन्छौँ। यदि त्यसो गरेनौ भने जिन्दगी अधुरै भएर भौतारिदैँ हिड्छौँ।”

जिन्दगीमा नपत्याउने खोलाले नै बगाई राख्दो रहेछ।  जब म करिब २१ बर्षको थिएँ अर्को मोड आयो जिन्दगीमा। म अमेरिकामा कलेज पढदै थिएँ तर मलाई यो मटेरलिस्टिक (भौतिकवादी) जिवन देखि वाक्क भएँ र आफू अब एउटा जेन बुद्धधर्मी भिक्षु बनेर जिवन बिताउँछु भन्ने मनमा दरो सोच आयो। अनि त्यहि सोचलाई आत्मासात गर्दै म अमेरिकाको स्यान फ्रानसिस्को भन्ने सहर पुगेँ एक्लै। सबै कुरा मिलाएर गएको थिएँ त्यहाँ भएको एउटा भिक्षु संगठनमा दुई चार बर्ष ध्यानमा बस्नको लागी। दिउँसो पुगेँ म त्यहाँ तर रातभर सम्म पनि त्यो ठाँऊ खोज्छु मरे फेला पार्न सकिन, फोन गरे, उनीहरु देखाएकै ठेगानामा पुगे,मानिसलाई सोधे, अहँ, त्यो ठाँऊ भेट्टाउनै सकिन बा। शायद यो पनि एउटा संकेत रहेछ माथीबाट । रातीको ९ बजे सम्म खोज्दा पनि नभेट्टाएपछि हार खाऐर त्यहाँबाट फर्के। फर्क्या फर्कै भएँ।  भिक्षु नबने पनि पनि मैले त्यहि दर्शन अनुरुप एक साधा जिवन बिताउने कोशिश गरि नै रहेको छु ।

म अमेरिकामा एस्ट्रो-फिजिक्स (खगोल तथा भोतिक बिज्ञान) पढ्न गा मान्छे, एउटा सिर्जनशील सुचना प्रबिधिमा काम गर्ने डिजाइनर कलाकार बनेर निस्केँ। उद्दोगको “उ” पनि नआउने मान्छे, अहिले १० बर्ष भयो सानो उद्दोग धन्दा चलाई राखेको छु । त्यहाँ कलेजमा हुँदा काम नपाएर ३-३ महिना साथीहरुकोमा बास लिदैँ भौतारिदैँ हिडियो, न्यु योर्कको बाटैमा पनि सुतियो। कति साथीहरुले त लुकाएरै राखे आफ्ना कलेज भित्र। अमेरिका पाँच बर्ष पछि वाक्क लाएर आफ्नै देश फर्कने निधो गरेँ।

 सबैको आफ्नै ठाँउ हुन्छ क्यारे मेरो चाहिँ नेपाल नै रहेछ आखिर। आए पछि पनि आफुले पढेको भन्दा समाज सेवा तिर नै आकर्सित भएँ अनि द्वन्द रुपान्तरणको शिक्षक हुन ट्रेनिङ्ग लिएँ। त्यस पछि द्वन्द व्यवस्थापन सिकाँउदै जाँदा नेपालको भिषण गृह युद्द को मुल ठाँऊ रोल्पासम्म पनि पुगेँ, त्यहाँ त्यसबेला द्वन्दरत पक्षहरु बिच सम्बाद कसरी गर्ने भनेर सिकाउनको लागि। शायद उनीहरुले भन्दा म आफैले बढि सिकेँ कि नेपालको जटिल परिष्थितिको बारेमा।

सन् २००३ को पहिलो दिनमै डिजटिल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सुचना प्रविधिको एउटा सानो घरेलु उद्दोग खोलेँ। मेरो बिचारमा यस कम्पनीले देशको अर्थतन्त्रलाई खासै ठुलो योगदान पुर्याउन सकेको छैन  नेपालमा सुचना प्रबिधिको उद्दोग स्थापना गर्न र फस्टाउन ठुलो मद्दत पुराएको छ। सयौँ नेपाली युवाहरुलाई उनको पहिलो रोजगार दियो जसले गर्दा पछि उद्धमी बनाउन पनि मद्दत गरेको छ। त्यसमाथी नेपालमा सुचना प्रबिधिको उद्दोग स्थापना गर्न र फस्टाउन ठुलो मद्दत पुराएको छ। यसमा चाहिँ मलाई निकै गर्व छ। पछिल्लो समयमा गन्दा यस कम्पनीका भुतपूर्व कामदारहरुले २० वटा भन्दा बढि उस्तै काम गर्ने कम्पनीहरु खोली सकेका छन्। सबै सँग सुमधुर सम्बन्ध छ र धेरै सँग त सहकार्य समेत गरिरहेका छौँ।

यसरी यता उता गर्दै अहिले आएर करिब १०,००० उद्दमशील नेपालीहरुको सन्जाल “आनट्रोप्रनियोरस् फर नेपाल” (नेपालको लागी उद्दोगी) पनि खडा गर्न सकियो। यसको पछाडि पनि एउटा सानो रोचक कथा छ।

२००८ मा एउटा साथीको घरमा सानो जमघट थियो। बिभिन्न देशबाट फर्किएका नेपालीहरु भेटियो त्यहाँ। प्रसङ्गमा के निस्कियो भन्दा हामी नेपालमा आफै केहि गर्न खोज्नेहरुको दुख-सुख पो्ख्‍ने र सुनिदिने कुनै जमात नै छैन। अनि कसैले ‘तपाँई-हामी नै शुरु गरौँ न त यसो दुख-सुख पोख्‍ने समुह एउटा क्याफेमा भेटेर भएपनि’ भन्ने ठट्टा गरे जसलाई  ३ जना पटमुर्खले आत्मासाथ गरे। उनीहरुले ठट्टा गरेको (वा चिया गफ गरेको) नबुझेर हो कि क्या हो, हामी ३ साथी केहि दिनमै गएर एउटा क्याफेमै भेट्यौँ – अनि तुरुन्तै शुरु भयो, “आनट्रोप्रनियोरस् फर नेपाल” (नेपालको लागि अद्दमी)। जब भाट-भटेनी सुपरमार्केटका “मिन बहादुर गुरुङ दाई-भाउजुलाई निम्त्यायौँ, हामी केवल ७ जना आएका थियौँ ! अहिले ४ बर्षमा हाम्रो सन्जालमा ४० भन्दा बढि देशबाट १०,००० उद्दमशील नेपालीहरु आवद्ध छन्। हेरक महिना सयौँको संख्यामा हामी भेट्छौँ अनि एक अर्कालाई मद्दत गर्छौँ प्रतक्ष-अप्रतक्ष रुपमा।

बिचित्रको “हाईरार्की” नभएको मन्च बनेको छ यो आनट्रोप्रनियोरस् फर नेपाल । यसले सयौँ उद्दमशील नेपालीहरुलाई उद्दोग खोल्न तिर प्रेरणा, सीप र माहोल बनाईदिएको छ। यसको सफलता हेर्दा के लाग्छ भने राम्रो मान्छेहरु नेपालमा धेरै छन् तर उनीहरुको सन्जाल बनेको रहेनछ र कोशिश गरियो भने अवश्य पनि राम्रा हरुको सन्जाल छिट्टै र फराकिलो बनाँउन सकिँदो रहेछ। नेपालको प्रगति नै राम्रो मान्छेहरुको सन्जाल कति बलियो बनाउन सकिन्छ मै भर परेको छ जस्तो भान लाग्छ।

म एक्सपेरिमेन्ट (अनुशन्धान) गरिरहन्छु। एउटै कुरा जिन्दगी भर गरि रहन सक्दिन म। त्यसैले होला चाहे त्यो कफी खेती तिर होस, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरु लेखेर होस वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेरहोस्  वा सुचना प्रविधिमा लागेर होस् म ठाँउ-ठाँउमा हात हाली रहन्छु।

हो आफुमा धेरै ठुला ठुला कमजोरीहरु छन्- म ठाडो छु, अजकल्टो छु, लेडेँढिपी छुँ – रिसाह पनि छुँ, कति ईष्टमित्रले त असामाजिक पनि भन्छन्। मलाई कसैले यसो गर, उसो गर, यता जा, उता जा, यता हिडँ, यता नहिडँ भनेको पटक्कै मनपर्दैन। त्यसैले होला यो नेपाल बन्द जवरजस्ती गर्ने प्रथा देखि घ्रिणा लाग्छ मलाई । यो नेपाल बन्द प्रथाले आफ्नै देशमा निर्धक्क सँग हिडन पाउने मेरो जन्मजात अधिकार खोस्न खोजेको भान परेको छ मलाई। त्यसैले अत्ति भो भनेर हामी साथीहरु मिलेर एउटा बन्द बिरुद्धको समुह शुरु गर्यौँ  २०१० को अन्तिम तिर। यसको मुख्य उद्देश्य नै बन्दको बिरुद्ध साधारण नेपालीहरुलाई निडर बनाउने हो र नेपाल “खुल्ला” छ भन्ने आभाष दिलाउने हो। त्यसैले अहिले त कसैले बन्द गर्यो भने हामी आफ्नो सवारी साधन लिएर वा भेला भएर बन्द बिरुद्द रयाली निकाली बन्दको अबज्ञा गर्छौ र पसल पसललाई खुलाउने प्रयास गर्छौ । जबसम्म जबरजस्ती बन्द गर्छन् हामी सडकमा नै आएर अबज्ञा गरिरहन्छौँ। अहिले हामीले आफुलाई ‘नेपाल खुल्ला’ अभियानकर्ता भन्न थाल्याछौँ । कसैले भोली बन्द हो भनेर सोध्यो भने ‘होईन, भोली नेपाल खुल्ला हो भन्छौँ।’  यो हल्लै हल्लाको देशलाई सुधार्न एउटा सानो प्रयास हो । त्यहि सानो प्रयासले मलाई अरु सामाजिक अभियानकर्ताहरु चिनाए।

२०११ मा “परिवर्तनको लागि हामी नेपाली एक” वा “नेपाल य़ुनाईटस्” भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो। नेपाल युनाईटसले समाजका बिभिन्न नागरिक पेशावर अगुवाहरु र गैर-राजनितिक युवाहरुलाई एकै ठाँउमा लिएर आयो र देशका राजनितिलाई हल्लायो । “ज्याला पूरा लियौ, अब संबिधान देऊ” भन्ने नारा बोकी खुब दवाव दिईयो। देश-बिदेश भैलियो यो आगो। राजनिति गर्नेहरुलाई धेरै दवाव पर्यो। तर एउटा कुरा सत्य रहेछ नेपालमा। जुन सुकै अभियान गरे पनि यो कुरा धुर्व सत्य रहेछ। “जो पहिले थाक्छ, उसैले त्यो दौड हार्छ।”  अफसोस् हामी नै पहिले थाक्यौँ। आ-आफ्नो पेशा गर्दै आएका हामीलाई धेरै समयसम्म काम छोडेर एक हुन गाह्रो हुन्छ यसरी राजनितिक पेशावरहरु सँग भिड्न । बाहिरबाट पोखरीमा फोहर सफा गर्न शायद असम्मभवै रहेछ भन्ने यसले मलाई छर्लङ्ग देखायो।

त्यसैले म राजनितिबाटै नेपाललाई असफल राष्ट्रबाट जोगाउन अघि सर्दैछु।  यो मेरो जिन्दगीको अर्को मोड हो। नेपाल भित्र र बाहिर सन्जालहरु बनाईरहेको छु र नेपालीहरुलाई घोँचीरहेको छु। अब बोल्ने दिन गए, गर्ने दिन आए नेपालमा। त्यहि अनुरुप म अगाडि बढ्दै छु आफु “नेपाली भन्नलाई होईन, नेपाली बन्नलाई!” ।

आउनुहोस् “एक्लै हिँडे चाँडो गईएला तर सँगै हिडेँ टाढा पुगिन्छ।”

नेपालको जय होस् ! तपाईको जय होस् !