अलिकति सन्काहा त हुनैपर्छ – अश्विनी कोइराला (कान्तिपुरको साप्ताहिकमा प्रकाशित भएको लेख)।
शुद्दताको लागि केहि शब्दहरु परिवर्तन गरिएको छ।
———
अरूभन्दा फरक हुन खोज्ने मान्छेलाई समाजले सन्काहा भन्छ। यस्ता मानिसको या त धेरै आलोचक हुन्छन् या त धेरै फ्यान फलोअर। उज्वल ५५२ यस्तै सन्काहा युवामध्ये एक हुन्। स्याङ्जाको सामान्य परिवारमा जन्मिएका यी युवा छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भएदेखि नै फरक काम गर्न रुचाउँथे। कतिसम्म भने बेलायतबाट लिइएको ए लेभलको अंग्रेजी साहित्यको परीक्षामा उनले अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए। शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षाबोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अंकमा पास गरेर पठायो। केही समयपछि अमेरिका पुगेका उज्वल मल्टाइ-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहुडटकमसम्म पुगेका थिए। यद्यपि उनी जागिर नै नखाई नेपाल फर्किए। कहिले बन्दविरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्वल अहिले ‘विवेकशील नेपाली’ का नाममा युवाहरूलाई संगठित गरिरहेका छन्।
तपाईंको नामका पछाडि ५५२ नम्बर छ, यो थर हो ?
यो मेरो विद्यालयको नम्बर हो। जसरी प्रहरी, सेनामा नम्बरका आधारमा मानिसको चिनारी हुन्छ, मेरो पनि त्यस्तै नम्बर हो। परिचय दिँदा नाम पछाडि थर किन भनिन्छ वा लेखिन्छ ? अरूले किन यसमा चासो दिन्छन्, त्यो मैले अहिलेसम्म बुझेको छैन। नाम भनेपछि पुगिहाल्यो नि, होइन र ?
त्यसो भए यो नम्बर पनि किन आवश्यक पर्यो ?
नम्बर पनि आवश्यक छैन। यद्यपि हामी बूढानीलकण्ठमा पढ्दा नामले भन्दा पनि यही नम्बरले एक-अर्कालाई चिनिने हुँदा म फलानो नम्बरको विद्यार्थी हुँ भनेपछि उसका बारेमा थाहा हुन्थ्यो। जस्तो मभन्दा एक ब्याच जुनियर तत्कालीन राजपरिवारका सदस्य नीराजन र दुई ब्याज सिनियर पारस रहेछन्। उनीहरू पनि नम्बरबाटै चिनिन्थे। उनीहरू को हुन् भन्ने कुरा लामो समयसम्म मतलबै भएन। अहिले आएर विद्यालयको नम्बरको उपादेयता त सकियो, तर थर लेख्दा कुन जातको, कुन पृष्ठभूमिको भन्ने प्रश्न पनि सँगै जोडिएर आएको पाएँ। अरूलाई यो कुन जात वा पृष्ठभूमिको मान्छे हो भन्ने चासो हुँदो रहेछ। मैले जानेरै नेपालीलाई जात, थर वा भूगोलले विभाजन गर्ने काम बन्द गर्नुपर्छ भनेर थर नलेखेको हुँ।
अहिले धेरै युवाले थर हटाउने अभियान सुरु गरेका छन्, कस्तो लाग्छ ?
यो धेरै पहिलेदेखिकै चलन हो। यता आएर यो तीव्र गतिमा छ। अहिले विभाजित नेपालमा यस्तो आन्दोलनको ठूलो खाँचो छ।
अरूभन्दा फरक हुँदा चर्चा हुन्छ भनेर जानीजानी फरक काम गर्नुहुन्छ कि अरू केही कारण छ ?
५५२ ले प्रत्येक प्रश्नको उत्तर कार्टुन बनाएर अंग्रेजी परीक्षा दियो भन्ने हल्ला चलेपछि मेरो नम्बर पनि चर्चित भयो। अमेरिकामा राम्रो दाम कमाउने सम्भावना हुँदाहुँदै पनि नेपाल फर्किएपछि धेरैले मलाई सन्काहा भने। किनभने नेपाली समाजमा जो पैसा कमाउने बाटोमा लाग्छ, उसलाई असल भन्ने चलन छ। मैले मनको कुरा सुनें। अमेरिका मलाई आफ्नो ठाउँ जस्तो लागेन।
नेपाल र्फकने कुनै विशेष उद्देश्य थियो ?
थिएन। घर र्फकन के उद्देश्य हुनुपर्छ र ? अँ माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला फर्किएको हुनाले मैले द्वन्द्व व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम दिने अवसर पाएँ। यो युद्धको अन्त्य हुनुपर्छ भनेर जिल्ला-जिल्ला पुगें। त्यसले मलाई नेपाल बुझ्न मद्दत पुर्यायो। शायद नेपालले मेरो भूमिका खोजिरहेको थियो र म नेपाल आएँ।
तपाईंले सुरु गर्नुभएको “एन्ट्रोप्रेनियरस् फर नेपाल’ अभियान निकै चर्चित छ। यो अभियानको खास उद्देश्य के थियो ?
म कम्प्युटर लगायतका विषयमा अमेरिकाबाट दक्ष भएर फर्किएको मान्छे, नेपालमै कम्प्युटरसम्बन्धी काम गरौं भन्ने सोचले डिचिटल म्याक्स सोलुसन्स नामक कम्पनी खडा गरें। यो निकै चर्चित पनि भयो तर अहिले सम्म कुनै पनि बैंकले तिमी के गर्दैछौँ, हामी के सहयोग गरौं भनेर आएनन्। अनि म जस्ता धेरै युवा आर्थिक अभावका कारण उद्यमी बन्न नचाहेकोे थाहा पाएँ। सबैभन्दा रमाइलो कुरा उद्योग र व्यापारसम्बन्धी जति पनि संगठन छन्, ती ठूला व्यवशायीलाई मात्र सहयोग गर्न खडा भएका रहेछन्। हामी जस्ता सानो क्षेत्रमा काम गर्ने मानिसको कुरा सुन्ने चलन नै रहेनछ। जबकि नेपाललाई यस्तै स-साना उद्यमीहरूले माथि पुर्याउँछन्, तर यिनीहरू संगठित थिएनन्। मेरो जस्तै स-साना कम्पनीलाई संगठित गर्नुपर्छ भन्ने उद्देश्यले यसको सुरुवात भएको हो।
अहिलेसम्म कति युवालाई संगठित गरिसक्नुभयो ?
३० हजार। ती ३० हजारमध्ये कतिपयको कुनै उद्यम छैन, भविष्यमा उद्यमी हुने उद्देश्यले संगठनमा आएका छन्। यो कतै दर्ता छैन न त यो संगठनमा कुनै पद नै सिर्जना गरिएको छ। तै पनि उद्यमीहरू यसमा जोडिरहेका छन्। यसले महिनाको एक दिन जिरोबाट उठेको चर्चित व्यक्तिको आतिथ्यमा विशेष भेला गर्छ। उक्त भेलामा एक-अर्काका स-साना समस्या समाधान गर्ने, कुनै मुद्दामा एकजुट बनाउने आदि काम हुन्छ।
कुन-कुन मुद्दामा एक जुट हुनुभयो ?
धेरै कुरामा एकजुट भयौं। यद्यपि बन्दविरोधी आन्दोलन यसले गरेको सबैभन्दा प्रभावकारी काम थियो। नेपाल बन्दलाई सधैंका लागि बन्द गर्ने अभियानमा हामी सक्रिय छौं। वैशाख महिनामा दुईवटा बन्द फिर्ता हुनुमा हाम्रो संगठनको दबाबले ठूलो काम गरेको थियो।
अहिले फेरि विवेकशील नेपाली नाममा युवाहरूलाई संगठित गर्दै हुनुहुन्छ, किन ?
बन्दविरोधी आन्दोलन नेपालका नाम चलेका उद्योगपति, नागरिक अगुवा एवं बुद्धिजीवीहरू अघि आउन डराउनुभयो। कुरा बुझ्दै जाँदा उहाँँहरू पनि कुनै न कुनै दलसँग निकट हुनुहुँदो रहेछ। सायद, बन्दविरोधी आन्दोलनमा लाग्दा उहाँहरूलाई दबाब आयो क्यारे ! त्यसपछि मैले राजनीतिबाट निरपेक्ष रहेका युवालाई राजनीतिमा सक्रिय गराउन यसको नेतृत्व गरेको हुँ।
विवेकशीलले के काम गर्छ ?
आत्मनिर्भर र उद्यमशील युवाको निर्माण गर्छ अर्थात् युवाहरू भेला हुन्छन् र आफ्नो रुचिको काम गर्छन्। त्यसलाई यसअघि तयार भएको संगठन ‘एन्ट्रोप्रेनियोयर फर नेपाल’ ले सहयोग गर्छ। दोस्रो बन्द-हड्ताल जस्ता नकारात्मक कुरालाई यो समूहले पूर्णत निषेध गर्छ। तेस्रो तर महत्त्वपूर्ण कुरा पढेलेखेका र सक्षम युवाहरूलाई राजनीतिमा पठाएर अहिलेको अशुद्ध राजनीतिलाई शान्तिपूर्ण रूपमा शुद्धीकरण गर्छ। हामी ग्रीन कार्ड होइन, भोटर्स कार्ड बनाउँ र गलत व्यक्तिलाई निर्वाचनमा हराऔं भन्ने अभियानमा छौं।
यस्ता आदर्शका कुरा धेरैले सोच्छन्, तर सफल हुन नसकेका धेरै उदाहरण छन्, सफल हुन सक्नुहुन्छ ?
नेपाल बन्दलाई लगभग बन्द हुने अवस्थामा पुर्याइसक्यौं। १० हजार उद्यमशील युवालाई संगठित गरिसक्यौं। ज्याला पूरा लियौं, अब संविधान देऊ भनेर सुरु गरेको अभियानमा हजारौं युवा स्वतःस्फूर्त रूपमा हामीसँग गाभिन आए। यो इतिहासले पनि विवेकशील नेपाली अभियान असफल हुन्छ भन्ने लाग्दैन। मैले बुझेको चुरो कुरो के भने लक्ष्य त्यो बेला असफल हुन्छ, जहाँ व्यक्तिगत स्वार्थ हुन्छ। अहिलेसम्म मैले जे गरें, बिना स्वार्थ गरेँ र सफल भएँ। निःस्वार्थ भावमा अलिकति सन्काहा भएर लाग्नुपर्छ, कसरी भइन्छ, असफल ?