सरकारका प्रतिनिधि कराँउछन्,
“जिम्मेवार नागरिक बन्नुहोस् कर तिर्नुहोस्! तपाईले नै कर नतिरेकैले हाम्रो देश गरीब बनेको छ”
यो सुन्दा त लाग्छ हामी आम-नेपालीले करै तिर्दैनौं हँ। हामी सबका-सब चोर रे !
तर यो सरासर गलत र भ्रामक प्रचार हो। सत्य त यो हो कि यो देशलाई नै पालिरहेका छौँ हामीले!
कसरी भनि सोध्नुहोला…
हामीले हरेक पटक केहि किन्दा त्यसको केहि हिस्सा सरकारलाई कर तिरेकै हुन्छौं।
जस्तो कि:
-
🇳🇵जन्मनु अघि देखि मरे पछि सम्म पनि हामी कर तिर्दै आएका छौँ । गर्भवती आमाले खाने औषधि देखि मरे पछि लाउने कात्रो समेतमा हामीले कर तिरेका हुन्छौं !🙏🏽मोटर बाईक, गाडी, माईक्रोबस वा ट्याक्सी चढ्नु भो भने त्यसमा लाग्ने पेट्रोलको १३% कर सरकारलाई जान्छ जुन तपाईकै भाडाँबाट तिरेकै त हो।🙏🏽खाजामा म:म खानु भो ? त्यसमा पनि कर तिर्नु भो भ्याटको रुपमा होस् वा त्यो बनाउने तत्वमा लागेको करको रुपमा !🙏🏽खेलौना किन्नु भो छोरीलाई? भन्सार मै काटी सक्यो कर !🙏🏽घरमा “हेलो” गर्नु भो फोन/मोबाईलबाट ? त्यसमा पनि सरकारले झ्वाम्मै १३% काटि सक्यो।🙏🏽आफ्नो स्कुटर-मोटरसाइकल-गाडी किन्दा कति तिर्नु भो ? जति लाख हो भने त्यसमा आधा भन्दा बढि त सरकारले लग्यो !🙏🏽 ग्यासँ, बिजुली, पानी किन्दा होस् वा तरकारी पकाउने तेल किन्दा होस् जसरी पनि सरकारमा पुग्छ तपाईले कमाएको पैसो।
त्यसैले हामी अाम नागरिकले कर तिर्दैनौं भन्ठान्नु गलत हो। यथार्थमा यो देशलाई तपाई-हामी
एक-एक जनाले दिन-दिनै तिरेको करले धानेका छौँ।
बरु प्रश्न त यो पो हो; हामीले तिरेको कर कहाँ पो गई रहेछ? कसरी हाम्रो पैसाले यो देश
चलाईराछन्? सोचौं, मनन गरौं।
- त्यो बाटोमा (कतै) पुलिस देख्नु भो? हाम्रै पैसा परेको छ उहाँको घर-परिवार धान्न
- सरकारी जागिर खाने हरेकको दैनिकी के ले चल्छ? हाम्रै पैसाले
- राष्ट्रपतिको तलब वा न्यायलयले न्याय दिंदा लाग्ने खर्च होस् – हाम्रै पैसा बाट
- त्यो बाटो बनाउने पैसो वा बाडी पिडितलाई सरकार राहतको पैसा पनि हाम्रै पैसा बाट जान्छ
- त्यसैगरि जनप्रतिनिधिहरु लाई पाल्न लागेको पनि अरबौँ रुपैया पनि हाम्रै खल्तिबाट रित्तिएको हो।
- १ लाख भन्दा बढि सेनालाई पाल्ने पैसा कहाँबाट आई रहेको छ? हामी बाटै
आफुले दिनहु तिर्दै आएको करको के फाईदा पायौँ त अहिले सम्म तपाई-हामीले ? मुल प्रश्न त यो पो हो । यो प्रश्न तपाई मलाई नसोध्नुहोस्। सोध्नुस् त ती हाम्रै ‘कथित’ जनताका सेवक, हाम्रा नेता र सरकारी प्रतिनिधिहरुलाई (फोन नम्बरहरु यता)।
“ मेरो पैसा कहाँ खर्च गयो ? कसरी ? किन ?”
यसको जवाफ माग्नु तपाईको हक मात्र होईन तपाईको ‘जिम्मेवारी’ पनि हो। म त भन्छु बरु जवाफ नमाग्नु भनेको आफै प्रति गैर जिम्मेवार हुनु हो।
- आजै हेल्लो सरकारमा फोन गरि सोध्नुस “मैले पसिना चुहाएर, पेट काटेर तिरेको करको सदुपयोग भयो कि भएन ?”
- आजै वडा वा गाउँको सचिवलाई सोध्नुहोस् कि त्यो सडक किन बनेन ?
- त्यो कर्मचारीले किन ढिलासुस्ती गर्यो ?
- त्यो पुलिसले किन फोन उठाएन?
- त्यो अस्पतालमा खै डक्टर- नर्स?
- एस-एल-सीमा फेल भैराख्ने त्यो स्कुलमा शिक्षकलाई किन कारवाही भा छैन ?
- गाँउलाई छुट्याईएको पैसाको हिसाब-किताब कता छ ?
- दिनु पर्ने बृद्ध भत्ता किन नदिएको?
- ट्राफिक जाम किन दिनहुँ हुन्छ ?
- हाम्रै पैसाले पालेका ती कर्मचारीले हाम्रै युवक-युवतीलाई एएरपोर्ट/ नाका आदिमा बेईज्जती वा लुटपाट गर्छन्। किन ?
कर तिरसक्नु भो, त्यसैले नै तपाई को हक बन्छ यी जवाफ माग्न ! जवाफ दिएनन् भने सुचनाको हक प्रयोग गर्नुहोस्, राम्राहरुको ‘सिन्डिकेट’ बनाउनुहोस् !
अब सोधौँ , बोलौँ, जिम्मेवार हौँ
नेतृत्वबाट जवाफ मागौँ !
दिँदैनन् भने तरुन्तै हटाऔँ
हटेनन् भने उखेल्न सम्म नडराऔँ!सरकार पाल्ने मात्र होईन अब जवाफ पनि मागौँ !
कर तिर्ने मात्र होईन, अब परिणाम पनि खोजौँ !!