One of the best write ups I have read in the recent months about solutions to Nepal’s stalemate. It is by Rabindra Mishra, It is his open editorial in Nagarik daily. A letter to the Maoist party of Nepal.
My understanding of this was simple: ”Do we want to die fighting or die after accomplishing something in our short lives? Someone said,”A fool wants to die fighting. A wise man wants to live humbly after fighting.” I agree.
(I have taken the liberty to paste the contents here but I strongly urge you to go to Nagarik and read it. Link is above)
प्रिय माओवादी नेतृत्ववृन्द,
मैले यो पत्र लेख्दैगर्दा तपाईंहरू आफ्नो भावी रणनीति बारे घनीभूत छलफलमा व्यस्त हुनुहुन्छ । तर जबसम्म तपाईँहरू आधारभूत प्रश्नमा घोत्लनु हुँदैन तबसम्म नेपाल राजनीतिक संकट र संक्रमणबाट मुक्त हुने छैन। त्यो प्रश्न हो तपाईंहरू ‘गरेर मर्ने कि लडेर मर्ने?’। त्यसमा स्पष्ट नहुने हो भने तपाईंहरुले जीवनकालमा देशको मुहार परिवर्तन गर्ने संभावना झन्झन् घट्दै गएको देखिएको छ।
गरिबहरूको उत्थान र यो देशको उन्नतिप्रति तपाईँहरूको प्रतिबद्धतामा मैले शंका गरेको होइन। प्रतिबद्धता अभिव्यक्तिको बाटो गलत भयो, त्यो बेग्लै हो। तपाईँहरू अधिकांशले आप्नो जिन्दगी गरिबका लागि कुनै न कुनै किसिमले लडेर बिताउनु भएको छ। तर त्यति लामो समय गरिबका लागि ‘लडेर’ बिताए पनि अहिलेसम्म उनीहरूका लागि केही ‘गरेर’ देखाउन चाहिँ सक्नुभएको छैन। गाउँगाउँका सामान्य सामाजिक कार्यकर्ताले तपाईंहरूले भन्दा आफ्नो समाज र देशका लागि धेरै बढी गरेका छन्। सकारात्मक सोच फैलाउन सहयोग पुर्याएका छन्।
तपाईँहरूले गरिबका नाममा लड्दा तिनैले अतुलनीय पीडा भोगे र उनीहरू नै मरे। तपाईहरूले नेतृत्व गरेको सशस्त्र द्वन्द्वले गरिबहरूमा अधिकारबोध त बढ्यो होला र त्यसैलाई तपाईँहरूले उपलब्धि ठान्नु भयो होला तर अधिकारबोधले मात्र भोको पेट भरिँदैन, नांगो आँग छोपिँदैन। भन्नुहोला, क्रान्ति निरन्तर प्रक्रिया हो र हामीले त्यसलाई सम्पन्न गर्न सकेनौं भने पनि हाम्रा सन्ततिले अगाडि बढाउने छन्। यो विफल बूढाहरूले गर्ने तर्क हो। उमेर र क्षमता भएकाले जे गर्नुछ जिवनकालमै गरेर देखाउँछन् र उपलब्धि हेरेर सन्तुष्टिका साथ मर्छन्। रोल्पा र रुकुम बनाउने भाषण छाँटेर, कत्रो ठूलो सपना थियो तर ‘प्रतिगामी’ र ‘यथास्थितिवादी’ले पूरा गर्नै दिएनन् भन्दै अरूमाथि दोष थुपारेर मर्नुभयो भने तपाईँहरूको मृत्यु अर्थहीन हुनेछ। विफलहरू दोष अरूमाथि लगाउँछन्, सफलहरू गरेर देखाउँछन्।
तपाईँ ‘क्रान्तिकारीहरू’ आत्मसमर्पण गर्नुभन्दा लडेर सहिद हुनु राम्रो भन्नुहुन्छ। स्वाभिमानी मानिसका लागि त्यो सत्य हो। तर त्यस्ता स्वाभिमानीका लागि मात्र त्यो सत्य हो, जसको अन्य विकल्प हुँदैन। तपाईँहरू त जितको संघारमा हुनुहन्छ। अलिकति संयम र बुद्धि पुर्याउनु भयो भने हार्ने संभावनै छैन। जिन्दगीभर अँध्यारोमा राखिएको साँढे एकाएक उज्यालोमा निस्कँदा अताल्लिएजस्तै तपाईँहरूले पनि युद्धबाट शान्तिको राजनीतिमा प्रवेश गर्दा खुला राजनीतिक परिस्थितिको सामना कसरी गर्ने भेउ नै पाउनुभएन, समस्या यत्ति हो। तपाईँहरूमा युद्धको अहंकार बाँकी छ र सकेसम्म सबैलाई पेलेरै बढ्नुपर्छ भन्ने मानसिकताबाट तपाईँहरू अझै ग्रस्त हुनुहुन्छ। तपाईँहरूलाई परास्त गर्न खोज्नेका लागि त्यही सबभन्दा ठूलो हतियार बनेको छ।
स्थितिको सही आँकलन गर्न नसक्दा पछिल्लो समयमा तपाईँहरूले दशपल्ट ठक्कर खाइसक्नु भयो। तैपनि तपाईँहरूलाई चेतना आएको छैन। यस्तै ताल हो भने तपाईँहरू नराम्रोसँग घायल हुनुहुनेछ, आत्मसमर्पण गर्नुभन्दा लडेर मर्नु राम्रो भनेर फेरि विद्रोह गर्नुहुनेछ अनि यस देशलाई अफ्गानिस्तानको बाटोमा धकेल्नु हुनेछ। त्यसपछि आफ्नो गल्ती छोप्न अरूलाई तथानाम गाली गर्नु हुनेछ। त्यसैले, तपाईँहरू गलत बाटोमा नगइदिए हुन्थ्यो भन्ने मनसुवाले यो पत्र लेखिरहेको छु। तपाईँहरू र यस देशको भलाइका लागि तीनवटा बुँदामा ध्यानाकर्षण गर्न चाहन्छु। सुन्ने नसुन्ने जिम्मा तपाईँहरूकै।
राजनीतिको मूलनीति कूटनीति हो भन्ने तपाईँहरूले याद गर्नुभएको छ या छैन कुन्नि? संविधान सभा चुनावको परिणामअघिसम्म कूटनीतिलाई तपाईँहरूले बन्दुकभन्दा पनि बलियो अश्त्रका रूपमा सफलतापूर्वक प्रयोग गर्नुभएको थियो। आन्तरिक र बाह्य शक्ति सबैलाई कूटनीतिक दक्षता प्रयोग गरेर सन्तुलनमा राख्नुभयो, कसैलाई उचाल्नुभयो, कसैलाई बसाल्नुभयो र कसैलाई उठ्नै नसक्ने गरेर थचार्नु भयो। त्यसैले सफल हुनुभयो। संविधान सभा चुनावको परिणामपछि जब तपाईँहरूमा कूटनीतिमाथि शक्तिको दम्भ हावी भयो तपाईँहरू चुक्दै जानुभयो। तपाईंहरूले बन्दुकभन्दा बलियो अश्त्र कुटनीति हो भन्ने बिर्सनुभयो। तथानाम बोल्नुभयो, तथानाम गर्नुभयो। त्यसैले, आन्तरिक र बाह्य दुवै मोर्चामा चुक्नुभयो र अझैपनि चुक्दै हुनुहुन्छ। त्यो कमजोरीलाई पाएसम्म शक्तिको दम्भले नै छोप्ने प्रयास गर्दै हुनुहुन्छ। एकपल्ट फेरि, बलको नीतिलाई होइन कूटनीतिलाई अश्त्र बनाउनोस्, परिस्थिति बदलिने छ।
संझौता गरेर सानो भइंदैन। अहिले र आउँदा केही वर्षमा विवेकपूर्ण र शान्तिपूर्ण संझौता गर्न जानु भयो भने धेरै वर्षसम्म नेपाली राजनीतिमा तपाईँहरूको हार हुँदैन। त्यति उज्वल भविष्य बोकेको पार्टी किन यसरी उन्मादग्रस्त भएको हो मैले बुझ्न सकेको छैन। तपाईंहरूले अंगाल्नुभएको माओवाद त साधनमात्र हो साध्य होइन। सामाजिक न्याय स्थापित गर्ने र देशलाई तिब्र प्रगतिको पथमा लैजाने अन्तिम लक्ष्यमा संझौता गर्नु पर्दैन। त्यसका लागि अपनाउन खोजिरहनु भएको उपायमा संझौता गर्नुहोस्। अन्तिम लक्ष्यलाई हेर्नेबित्तिकै, सेना समायोजनको संख्या, संघीयताको खाका आफूले चाहेजस्तै बन्नुपर्ने वा नपर्ने र अहिले नै माओवादी नेतृत्वको सरकार चाहिने कि नचाहिने भन्न प्रश्न गौण बन्नेछन्। पांचसात हजार माओवादी लडाकु नेपाली सेनामा कम जाँदैमा या संघीयताको स्वरूप तपाईंहरूले चाहेजस्तै नहुँदैमा केही फरक पर्दैन। देश बनाउने नेताले हो, सेनामा बलियो पकड भएर देश बन्ने होइन। त्यस्तो हुँदो हो त बर्मेली या उत्तर कोरियाली सत्ता धेरै सफल हुनुपर्ने थियो।
त्यस्तै, संविधानको स्वरूपले मात्र देश बन्ने होइन। पश्चीमका अमेरिका र बेलायत, दूरपूर्वका मलेसीया र सिंगापुर, खाडीका कतार र युएई या हाम्रै छिमेकी चीन र भारत सबैमा भिन्दाभिन्दै किसिमका संवैधानिक व्यवस्था छन् र पनि ती सबैले प्रगति गरेका छन्। तपाईंहरूले ठूलो महत्व दिएको विषय आफ्ना अहंमात्र हुन्। अहं सामान्यतया तपसीलका विषयमा अड्किएका हुन्छन्, जुन सामान्यतः व्यक्तिले थाहै पाउँदैन। अहंकार त्यागेर टाढाको लक्ष्यलाई हेर्नोस् र सेना समायोजन, सरकारको नेतृत्व, र संघीयताको नक्साजस्ता झिनामसीना विषयमा अहिले अहंमुक्त भएर संझौता गर्नोस्। संझौताबाट तपाईंहरू कत्ति पनि सानो हुनुहुने छैन, बरू त्यसले तपाईंहरुको ठूलो उद्देश्य हासिल गर्न सहयोग पुर्याउने छ। त्यति गर्नुभयो भने, शान्ति र संविधान निर्माण सहजै पूरा हुनेछ। तपाईंहरूको छवि आफैं निर्माण हुनेछ र विश्वसनीयता बढ्नेछ। त्यसपछि चुनावमा तपाईँहरूको विजयलाई कसैले रोक्नसक्ने छैन।
‘जनविद्रोह’बाट देश बन्दैन। तपाईंहरूमध्ये र कतिपय समर्थकले भन्नेछन्, ‘सम्झौता गर्दैगयो भने त माओवादी पार्टी, माओवादी पार्टी रहने छैन, हामी पनि कांग्रेस र एमालेजस्तै बन्नेछौं, त्यस्तो सम्झौता गर्नुभन्दा बरू ‘जनविद्रोह’मा जानु राम्रो।’ पहिलो, तात्कालिक विषयमा सम्झौता गरेर तपाईँहरू कुनैपनि हालतमा कांग्रेस या एमालेजस्तो बन्नुहुने छैन, तपाईंहरूको दर्शन नै बेग्लै छ। दोस्रो, आन्तरिक र बाह्य परिस्थितिका कारण तपाईंहरूको विद्रोह सफल हुने संभावना अत्यन्त न्यून छ। यी सबैभन्दा महत्वपूर्ण यथार्थ ‘गरेर मर्ने कि लडेर मर्ने’ भन्ने प्रश्नसँगै सम्बन्धित छ। मानौ, तपाईँहरू ढिलो या चाँडो ‘जनविद्रोह’ गरेर सफल नै हुनुभयो रे, या राजनीतिक अन्योलका माझ त्यसमा प्रभुत्व कायम गर्न सक्षम हुनुभयो रे, अनि सत्ता तपाईँहरूको हातमा आयो रे। तर सत्ता प्राप्तिमात्र त तपाईंको लक्ष्य होइन। तपाईंको लक्ष्य त परिवर्तनका एजेन्डा लागू गर्नु हो।
तपाईंहरुले त्यसरी हासिल गरेको सत्ताको त भोलिपल्टैदेखि देशैभरि अन्य राजनीतिक दल र नागरिक समाजले विरोध गर्न थाल्नेछन्। अनि तपाईंहरूको देश बनाउने सपना चकनाचूर हुनेछ। सम्पूर्ण ध्यान सत्ता बचाउनमै केन्द्रित गर्नुपर्नेछ। त्यसपछि सत्ता प्राप्तिको अर्थ के रह्यो? अनि के फेरि दशौं हजारको रगत बगाउनु हुन्छ? या विपक्षीहरू सबैलाई काम गर्नै दिएनन् भनेर सरापेर बस्नु हुन्छ? त्यस्तो परिस्थिति सिर्जना भयो भने रूकुम र रोल्पाको स्थिति चाहिँ जस्ताको त्यस्तै रहनेछ र तपाईंहरू भने अर्थहीन गर्वका साथ क्रान्तिका नाममा सत्ताका लागि लडिरहनु हुनेछ।
तपाईंहरूलाई जनताको ठूलो समूहको समर्थन र सद्भाव छ। त्यसलाई वैधानिकता दिने र संस्थागत गर्ने माध्यम शान्तिपूर्ण राजनीति हो। त्यसका लागि तात्कालिक बाटो कुशल कुटनीति, अहंमुक्त सम्झौता, नयाँ संविधान र त्यस अन्तरगतको निर्वाचन हुनुपर्छ। त्यति भयो भने तपाईंहरूले सत्ता कब्जै गर्नुपर्दैन, सत्ता स्वतः प्राप्त हुनेछ र नौ महिने शासनकालका जस्ता गल्ती दोहोर्याउनु भएन भने त्यो धेरै वर्षका लागि दिगो र स्थिररूपमा कायम रहनेछ। तर दम्भका कारण मूल उद्देश्यलाई ओझेलमा राखेर अहिले नै तपसीलका सैद्धान्तिक विषयमा अल्झिरहनु भयो भने तपाईंहरूको लडाईं कहिले टुंगिने छैन। जितिसकेको युद्ध हार्नु हुनेछ। अनि, आफूमात्र होइन यो देशलाई पनि हराउनु हुनेछ। तपाईंहरूमा सद्बुद्धि पलाओस्। शुभच्छुक नागरिकका नाताले मेरो शुभकामना!